Thursday, February 14, 2008

लक्कीको लगाव -कुमार सुब्बा


कुवेतको अदालतले सिन्धुपाल्चोककी डोल्मालाई मृत्युदण्डको फैसला सुनाएलगत्तै उनको ज्यान जोगाउन आग्रह गर्दै महिलाहरूको एउटा लस्कर परराष्ट्र मन्त्रालय पुग्यो। 'डोल्मा बचाऊ अभियान'मा अहिले ती महिलाहरूलाई दुई दर्जनभन्दा बढी मानवअधिकार संस्थाहरूले साथ दिइरहेका छन्। फलतः डोल्माको जीवनरक्षाका लागि पहल गर्न सरकार अग्रसर भएको छ। राष्ट्रिय आदिवासी जनजाति महिला सञ्जालको व्यानरमा शीतलनिवास पुग्ने ती महिलाहरूको नेतृत्व गरेकी थिइन्, सञ्जालकी अध्यक्ष लक्की शेर्पा (३३) ले। उनी भन्छिन्, “विदेशमा नेपाली महिलालाई मृत्युदण्ड दिन लागिएको सुनेर हामी स्तव्ध भयौं र उनको बचाऊ अभियानमा लागिहाल्यौं।” लक्की सामाजिक अभियानमा संलग्न भएको एकदशक बित्न लाग्यो। यस्ता गतिविधिमा संलग्न हुनुलाई उनी एउटा शिक्षित महिलाको कर्तव्य ठान्छिन्। उनले यो कालखण्डका धेरै समय आदिवासी जनजाति महिलाहरूको अधिकारका लागि खर्चेकी छिन्। अधिकारकर्मीको रूपमा होस् वा विषयविज्ञ भिजिटिङ प्रोफेसरको रूपमा; उनीहरूको अवस्थालाई थुप्रै अन्तर्राष्ट्रिय मञ्चहरूसम्म पुर्‍याउन सफल लक्की नेपालबाट एसिया प्रशान्त क्षेत्रको आदिवासी जनजाति महिला सञ्जालमा प्रतिनिधित्व पनि गर्छिन्। शेर्पा समुदायका पहिलो प्राध्यापक श्यामसुन्दर शेर्पाकी छोरी लक्की अध्ययनको हिसाबले अर्थशास्त्री हुनुपर्ने हो। अर्थशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर उनी आफ्नो परिचय महिला अधिकारकर्मीको रूपमा स्थापित हुनु परिस्थितिको बाध्यता ठान्छिन्। भन्छिन्, “उत्पीडनमा परेका आदिवासी जनजाति महिलाहरूको आवाजलाई माथि उठाउन यो क्षेत्र रोजेकी हुँ।”

1 comment:

Anonymous said...

Hello Ang Tenzing jee.
Tashi Delek,
I am Lhakpa sherpa from Denver Colorado USA, We are trying to raise fund for your wife here in USA, but i need to talk to you first, Please contact me at Lhakpa@hotmail.com
Thank you.
Lhakpa Sherpa
Denver CO USA